0SubscribersSubscribe
31,098FansLike

बुद्धिमान मोक्तानको ‘जिक्तेन तामछ्योइ’ माथि चर्चा

खबरहरु

बौद्ध धर्मको उद्गमस्थल नेपाल हो : परराष्ट्र मन्त्रालय

भारतीय विदेशमन्त्री एस. जयशंकरले नेपालको लुम्बिनीमा जन्मिएका गौतम बुद्धलाई महान भारतीय भनेर अभिव्यक्ति दिएपछि नेपाली सञ्चालमाध्यमले नेपालको...

अमेरिकाको पेन्सलभेनियाबाट तामाङभाषी किशोरी बेपत्ता

बस्टन : अमेरिकाको पेन्सलभेनियाबाट नेपालीभाषी किशोरी हराएकी छन्। १४ वर्षीया शबिका तामाङ बुधबार पेन्सलभेनिया राज्यको डौफिन काउन्टीस्थित स्वट्यारा...

जिक्तेन तामछ्योइ (लोकशास्त्र), साछ्या-नामछ्या (आकाश-धर्तीको सृष्टि), ठुङराप-धुङराप (उत्पत्ति र वंशावली) जस्ता शिर्षकमा प्रायः सृष्टिको कथा र तामाङ थरीय उत्पत्ति स्थान, कुलदेवता र वंशको व्याख्यान ताम्बाले गर्ने गरेको पाइन्छ । बुद्धिमान मोक्तानले लामा लिपिमा रहेको ताम्बाको काइरान देवनागरी लिपिमा अनुवाद गरी छपाइएको ‘जिक्तेन तामछ्योइ’ पनि त्यसैको अंश मानिनु पर्दछ । यो नै तामाङ बारे नेपाली भाषामा पहिलो प्रकाशित पुस्तक मानिन्छ ।

सन् १९५६ मा दार्जिलिङ भारतबाट प्रकाशित उक्त पुस्तकको पुनःसंस्करण तामाङ डाजाङ र तामाङ साहित्य एकेडेमीले २०७० मा ल्याएको छ । पुस्तकको प्रथम अध्यायमा साछ्या-नामछ्या (सृष्टि) को कथा समेटिएको छ भने द्वितीय अध्यायमा ताम्बाले घेवा (मृतकको काजकिरिया) थालनी गर्दा ताम्बाको तर्फबाट विधि प्रारम्भ गर्न आह्वान गर्ने चलनचल्तीको भनाइ समेटेको छ जुन छ्योगा प्रात्पा (विधि प्रारम्भ) भनि ताम्बाले घेवा प्रारम्भ गर्दा बताउँछन् । तृतीय अध्यायमा पनि घेवाकै क्रममा रिङसाल च्योल्बा भनि अस्थि-धातु मायुङ (माइती) लाई जिम्मा लगाउँदा भन्ने काइरान संकलित छन् ।

सन् १९५६ मा दार्जिलिङबाट प्रकाशीत पहिलाे संस्करणाकाे कभर पृष्ठ

त्यसैगरी शैलुङ क्षेत्रमा प्रचलित ‘खेङा’ भनिने पाँच थरवंशीयहरु (१) मोक्तान, (२) ह्योन्जन, (३) घिसिङ, (४) बल र (५) ब्रोक्चनको संक्षिप्त परिचय दिइएको छ । तर, मूल ‘ताम्बा काइतेन’ (तामाङ वंशावली) मा भने खेङाबारे उल्लेख गरेको छैन । त्यसपछि बाप्सा-ठुङ्सा शिर्षकमा तामाङका ३२ थरी र अर्को थरीय गोथर/साङरी वा खोर थारीको नामावली दिएका छन् । त्यसमा तामाङ थरीय जातिका मूलस्थान र कुलदेवताको वर्णन गरिएको छ । त्यसैगरी रीतिथितिका सवाल र फुटकर नोटहरु पनि पुस्तकमा समावेश छन् ।

ताम्बाले सृष्टिको कथा सुनाउँदा सर्वप्रथम ‘चोहो रिम्पोर्छे’ भनि गाउँमूलीलाई सम्बोधन गर्दछ भने दोस्रो स्थानमा ‘लामा रिम्पोर्छे’ (पुरोहित) वा ‘दोर्जेलोपोन’ (बज्राचार्य) लाई सम्बोधन गर्दछ । तेस्रो स्थानमा झाँक्री (बोन्पो) लाई सम्बोधन गर्दछ । त्यसैगरी चौथोमा गान्बा (बुढापाका), छ्योडो (साथीहरु) र योक्पो (दासदासीहरु) लाई सम्बोधन गर्दछ ।

ताम्बाको सम्बोधनको यो क्रमले तत्कालिन तामाङ समाजमा चोहो (गाउँमूली/सामन्त) को एकलौटी प्रभुत्व रहेको तथ्य दर्शाउँछ । लामा पुरोहितभन्दा गाउँमूली (सामन्त)को नाममा पहिलो सम्बोधन हुनुलाई उसको राजनीतिक शक्तिको पहिचानको रुपमा लिनुपर्छ, नभए धार्मिक हिसाबले सामन्तभन्दा गुरु पुरोहितको नाम अगाडि आउने गथ्र्यो । त्यसैगरी तेस्रो स्थानमा बोन्पोलाई सम्बोधन गर्ने गरेकाले तामाङहरुमा बौद्धधर्म प्रवेश पछि पनि झाँक्रीहरुले समाजमा आफ्नो स्थान सुरक्षित राखेको प्रमाणित गर्दछ ।

पुस्तकमा प्रथाम अध्यायको तेस्रो काइरानमा भनेका छन्-

‘३. …ह्याङ रोङसुमदोला मि दुलबोन, यिरुङबोन, ङारुबोन, लाबोन राङपाइ छ्यामु बिसि मानसी स्युबागा ।’ (जिक्तेन तामछ्योइ २०७०ः १६, तामाङ डाजाङ, काठमाडौं)

(भावार्थ : …हामी पहाडीया वा पर्वतीय त्रिवेणीको त दुल बोन, यिरुङ बोन (स्वस्तिक बोन), ङारु बोन, सिङबोन (काठेझाँक्री), लाबोन (दैवीझँक्री) जस्ता स्थापित छाैं ।)

पर्वतीय तीन दोबाटो (तीन चुली/त्रिवेणी) भन्नाले (१) उत्तर हिमालय पर्वत, (२) बर्मी पर्वतमाला र (३) पश्चिम काश्मिरी पर्वतको माझमा ‘रोङ सुमदो’ रहेको संकेत दिन्छ, जहाँ ती बोनहरु खेल्ने गर्थे अर्थात् यिनै क्षेत्रभित्र पर्वतीय बोन सभ्यता रहेको थियो ।

त्यसैगरी ताम्बाले कृषि व्यवसायको महत्वलाई विशेष प्राथमिकता दिएको पाइन्छ । पशुचरी वा सिकारी अवस्थाबाट कृषि उत्पादनमा लागेपछि विकासको खुट्किलो माथि उक्लेको मानिन्छ । त्यसै प्रसंगमा ताम्बाले भूमिका बाँध्दै भन्ने गर्छन्-

‘५. …स्यार गाङरी ठिदुनगी ङिमा मास्यार्ना, ज्याङ गाङला खावा छेन्पो ज्युमिखुब, स्याङ गाङरी ठिदुनगि ङिमा मास्यार्ना, नुप गाङचेला होइम्हिसाल ।
६. …स्यार गाङरी ठिदुनगि ङिमा मास्यार्ना, ल्हो जाम्बुलिङगि म्हुना म्हिथुम ।
७. …स्यार गाङरी ठिदुनगि ङिमा मास्यार्ना, नाक्पो टिनकी गोइगी रुल ।
८. द्हेने, ठिदुनगि ङिमा ज्योन्पाइ देयाङ काडिन्छेला ।’ (जिक्तेन तामछ्योइ २०७०ः १७, तामाङ डाजाङ, काठमाडौं)

(भावार्थ : पूर्वको हिमालबाट सूर्य उदय भएन भने उत्तरको हिमालयको बाक्लो हिउँ पग्लिन सक्दैन । पूर्वको हिमालयबाट सूर्य उदय भएन भने पश्चिमको डाँडमा प्रकाश पुग्न सक्दैन (उज्यालो) हुँदैन । पूर्वको हिमालयमा घाम झुल्केन भने दक्षिण जम्बुद्वीपको अन्धकार हट्दैन । त्यसरी नै पूर्वमा घाम उदय भएन भने कालो बादल पनि फाटिन्न । त्यसकारण घाम उदाउनु पनि धन्य हो ।)

‘१०. छान्देन च्युङि कि च्योङा दावा दाछेन नुप्तु माछेन, दुइसाङ ङानगि छेपा ङोआसेलाइला बिसि मानसी स्युबागा ।
११. द्हेने दावा ङ्हासु जोन्पाइ, द्हेयाङ काडिन्छेला…।’ (जिक्तेन तामछ्योइ २०७०ः१७, तामाङ डाजाङ, काठमाडौं)

(भावार्थ : बाह्र लक्षणयुक्त पूर्णिमाको चन्द्रमा पश्चिममा उदाएन भने (वार, महिना र वर्षहरुको नामाकरण हुन नसक्दा) खराब-असल काल-समय छुट्याउन नसकिने हुँदा महिनाहरु संख्यामा निर्धारण हुनु (पूर्णीमा उदाउनु) पनि धन्य हो… ।)

सूर्यको गति उत्तरायन र दक्षिणायनको आधारमा वर्ष, ऋतु, मास, पक्ष र साप्ताहिकी जस्तो कालचक्र गणना ज्योतिषशास्त्रले गर्छ । यसले प्राचीन ज्योतिषीय पद्धतिले ऋतु-मासको पहिचान गर्ने शिक्षा बाँडेर कृषि उत्पादनमा टेवा पुर्याएको र तिथि-मितिको संस्कार बसाल्न ठुलो योगदान पुर्याएको झल्काउँदछ । बिहानी हुँदा लानि सेबा (जून डुब्नु) र दिनि छेबा (घाम उदाउनु) हो भने रात पर्दा दिनि सेबा (घाम डुब्नु) र लानि छेबा (जून उदाउनु) हो । त्यसैको आधारमा दिन रातको गन्ति गरिन्छ ।

त्यसरी नै कृषि उत्पादनद्वारा जीवन पद्धतिमा ल्याउने परिवर्तनलाई सम्झाउँदै ताम्बाले भन्ने गरेका छन्-

‘१२. ङ्युगु ङोन्पो माकेना, सेर्गि ङेमा गाङले थोन ।
१३. सेर्सि ङेमा मास्यार्ना, ब्रेबु रिन्छेन गाङले के ।
१४. ब्रेबु रिन्छेन माज्युङना, ल्होङच्योइ योन्तेन गाङले ज्युङ ।
१५. ल्होङच्योइ योनतेन माज्युङना, मिछेन पोन्पो गाङले छो ।
१६. मिछेन पोन्पो माछोना डा दाङ ङेनगि ताम ङोआसेलाइला बिसि मानसी स्युबागा ।’ (जिक्तेन तामछ्योइ २०७०ः१७, तामाङ डाजाङ, काठमाडौं)

(भावार्थ : जमीनमा बीउ नरोपे हरियो टुसा कहाँबाट पलाउँछ ? हरियो टुसा नपलाए सुनको घाम (बालीको फूल) कहाँबाट निस्कन्छ (फक्रिन्छ) ? सुनको घाम नफक्रिए अमूल्य फल-फलार कहाँबाट उत्पन्न हुन्छ ? अमूल्य फल-गेडा (बालीनाली) उत्पादन नभए उपभोगको वस्तुको गुण कहाँबाट प्राप्ति गर्न सकिन्छ ? उपभोगको सामग्रीको अभावमा भद्रभलाद्मीको भेला बेगर शत्रु र मित्रको कुरा छुट्याउन सकिन्न भनि निवेदन गरेको हुँ ।)

माथिको काइरानमा ‘मछेन पोन्पो’ शब्दको अर्थ ‘ठूलाबडा अधिकारी’ भन्ने लागे तापनि छोबा (भेला) भने बुहसदस्यीय नामबाट ती भेला हुनेहरु भद्रभलाद्मी नामले सुहाउने देखिन्छ जो एकै ठाउँमा भेला भएका हुन्छन् । हुन त संघीय स्वरुपको राज्य संरचना भएको लेखक अजितमान तामाङ (नुवाकोट) र रबीन्द्र ग्यापक (दोलखा) ले ऐतिहासिक पश्न उठाउने गरेका पनि छन् । त्यस्ता भनाईहरुको ऐतिहासिक तथ्यहरु खुल्न आएमा ती भेलाहरु साँचिकै ठूलाबडा हाकिमहरुकै सम्मेलन भनि स्वीकार्नु पर्ने हुन्छ । तर, त्यसका केन्द्रीय स्थान, राज्यको स्वरुप, प्रभाव क्षेत्रको सीमाना बारे र मूलकेन्द्र (राजधानी) कहाँ थियो भन्ने धेरै प्रश्नको उत्तर आउन सकेको पाइन्न ।

जहाँसम्म ग्याल्सा च्युङि (बाह्र राजधानी) को सवाल छ, ती ग्याल्साहरुको भौगोलिक आकारहरुको सीमाले हिमालयको निकै ठूलो भूभाग समेटिन्छ । ठुङ्सा–बाप्सा (वंश उत्पत्ति स्थान–कुलदेवताको अवतरण स्थान)लाई लिँदा ‘ग्रेटर तिब्बत’ भन्दा पनि बाहिरसम्म नै पुग्ने देखिन्छ । जस्तै– ग्यापाको बाप्सा ग्यानक युल (चिनियाँ देश) भनि उल्लेख गरेको छ । (जिक्तेन तामछ्योइ (२०७०), तामाङ डाजाङ : ३१/बाप्सा-ठुङ्सा १०) अन्य ताम्बा काइतेनहरुमा भने डुपाको डुगु ह्युल (डगु देश) र सुम्पाको सुम्पा ह्युल (सुम्पा देश) भनि उल्लेख गरेको पाइन्छ । डुगु र सुम्पा देश (राज्य) तिब्बतका ३३ औं सम्राट स्रोङचन गाम्पोले गेटर तिब्बतमा समावेश गरेको तिब्बती इतिहासमा उल्लेख छ । त्यस्तै अन्य ताम्बा काइतेनहरुमा ग्याबाको बाप्सा ग्यारोङ पनि भन्ने गरेको पाइन्छ । त्यो तत्कालिन तिब्बत-चीन सीमान्त क्षेत्र हुन् । मिछने पोन्पो छोबा (अधिकारीहरुको भेला) भन्ने गरेका सभा वा सम्मेलनले दिएको प्रसंग खोतल्दा घेवा-गेन्दुन (सामाजिक काजक्रिया) लाई नै भेला भनेको वा अर्को कुनै राजनीतिक अर्थ राख्ने भेला पनि हुने गर्थे भन्ने प्रश्न उठ्न आउँछ । हाल तामाङ समाजमा प्रचलित प्रथामा भने ताम्बाले काजक्रियालाई नै छोबा (सभा) भनि सम्बोधन गर्ने गरेको पाइन्छ ।

ताम्बाले चोहो (मुखिया) लाई सम्बोधन गर्दा ठिइङाप्दा (गद्दीका मालिक), दोनगि दोप्दा (ज्ञानको सूत्रधार), सालाम दाहा (जमीनको मालिक), नामलाम गुङ (आकाशको केन्द्र), गुङ्गि निमा-गुङ्गि दावा (आकाशको घाम-आकाशको जुन) र ह्युलला नोमसिङ (देशका दण्ड वा भावर्थ दण्डविधान हो) भन्नाले मुखियाले हुकुममार्फत् शासन गर्ने भन्ने अर्थ बुझाउँछ । यद्यपी भेला मात्रले शत्रु र मित्र छुट्याउन सकिन्छ भन्ने मान्यताले वृहत्तर छलफलले समुहिक रुपमा मात्र सही निर्णय लिन सकिन्छ भन्ने सन्देश दिन्छ ।

ताम्बाले सृष्टिको कथा वा थरीकुलको बाप्सा-ठुङ्साको कथा बताउनु भन्दा पहिले भेलामा कुनै गम्भीर विषयका बारेमा छलफल भएन वा त्यस्तै अर्थपूर्ण सम्वादहरु चल्न सकेन भने त्यो भेला बाख्रा-भेँडा जम्मा भएको वा गाई-भैँसी-पशुपंछी भेला भएसरह सारहीन, अर्थहीन र महत्वहीन हुने भनि सचेत गरेको पाइन्छ । भेला हुनकै लागि पनि राम्रो कृषि उत्पादन (आर्थिक उन्नति) लाई विशेष महत्व दिएर व्याख्यान गरेको छ ।

तत्कालिन समयमा आजको जस्तो उद्योगधन्दा र व्यापर जगत जस्तै कृषि उत्पादन आकर्षणको केन्द्र बनेको मान्नुपर्छ । त्यसैले ताम्बाले आफ्नो अवधारणा प्रस्तुत गर्दा भेला भएका भद्रभलाद्मीहरुको सम्मान गर्दै यसो भन्छन्-

‘१७. थेमि खाइबा च्यानगा बिसि, थेमि सालवाइ च्यानगा बिसि, थेमि रिक्पाच्यानगा बिसि ह्यार्सोना, सिङ्गि नोर्बुला छुल लासि, मार स्हिमामी म्रावाइ नोर्बुला गोइछ्या नोम्सि जिक्तेन तामछ्योइ फ्रालखाम्ला ।
१८. स्यान्दो ल्हेङ्मो स्युखाम्ला, लेम्बा (कुक्पा) खाछ्योइ ठोलखाम्ला, म्रासिङ बुल्वा फुलखाम्ला बिसि ङा गुङरि दाराप्पा आहिन बिसि मान्सि स्युबागा ।
१९. म्हि छ्योइला ठिम, ङ्यान थोइला पे, लुङ्बाला रिमठिम, छिक (वाचन)ला सुरचाम गिक, आस्युमाले बिसाम रा दाङ लुग, बा दाङ बामो, ज्या दाङ ज्यामो छोमा राङ तामु बिसि मानसी स्युबागा ।
२०. स्युला माले बिसम ङा आज्याला राङ तामु बिसि मानसी स्युबागा ।’ (जिक्तेन तामछ्योइ २०७०ः१७-१८, तामाङ डाजाङ, काठमाडौं)

(भावर्थ : यहाँहरु विज्ञहरु हुन्, यहाँहरु आँखा खुलेको (ज्ञानको) भद्रपुरुषहरु हुन्, यहाँहरु प्रतिभाशाली (रिगपाच्यान) हुन् भनि बुझे माथितिर (शरीरको माथिल्लो भाग शिर) सिंहको जस्तो हाउभाउ र गर्धन ढाक्ने कपाल पाल्ने नक्कल नगरी तलतिर (शरीरको तल्लो भागमा मयुरको प्वाख जसरी रङ्गीचङ्गी पहिरण धारण नगरेर (ताम्बा मैले) लोक कथनको मौखिक बयान गर्न सक्छु, अन्य कुराहरु निवेदन गर्न सक्छु, वाक्यहीन मौन (कुग्पा खाछ्योइ) भनाइ केलाउन सक्छु, म्रासिङ/म्रावाइ सिङ्गे/वादिर सिंहको/बुद्ध भगवान्लाई विधिपूर्वक पूजन गर्न सक्छु भनि म सभाको मध्यभागमा उभिएको होइन भनि निवदेन गर्दछु । आफ्नो नम्रता प्रदर्शन गर्दै आत्मभिमानको कुनै घमण्ड नभएको स्पष्टिकरण दिन्छु । समाज, धर्मको नियम, श्रावक-श्रुति संस्कृतिको उदाहरण, ग्रामीण क्षेत्रको चालचलन एक छेउमा अवगत गराइएन भने ‘पशुपन्छीको भेला’ झैँ हुन्छ भनि बिन्ती गरेहो हुँ । भनौँ भने म आफैँ नराम्रो मानिस पो हुन्छु कि भनि बिन्ती गर्छु ।)

त्यस्तै ताम्बाले कुनै पनि विचारको प्रस्तुति बेवास्तामा अर्थहीन हुन पुग्ने सवालमा आफ्नो दलिल (तर्क) पेस गर्दछन् र भन्छन्-

‘२१. म्हि साङसिङ म्हाङपो तामगी तोर्सा हिन, म्हि च्यालचोल लाब्ना तामती तोर्सा हिन, म्हि ङ्यानखान म्हेपा तामगी तोर्सा हिन ।
२२. म्हि गोङ्मा नामगी, थुतेत बार्मा नामगी, ङ्यानसाम होगमा नामगी, थु म्हायाङबार, ङ्यान सानबार, स्युगो बिसि मानसी स्युबागा ।’ (जिक्तेन तामछ्योइ २०७०ः१८, तामाङ डाजाङ, काठमाडौं)

(भावार्थ : मानिसको हुलहुज्जत, भागदौड, बेफुर्सती कुरा (सन्देश) हराउने ठाउँ हो । मानिसहरुले अनावश्यक होहल्ला गर्नु पनि कुरा हराउने ठाउँ हो । त्यसरी नै सुन्ने मानिस छैन भने पनि कुरा हराउने ठाउँ हो । त्यसकारण यस्तो स्थितिमा कुनै कुराको महत्व रहँदैन । कुनै उपदेश सुनाउन लाग्दा म्हिगोङ्मा (उपल्लो वर्ग) हरुले ध्यान दिनु पर्दछ । म्हिबार्मा (मध्यम वर्ग) ले ध्यान दिएर सुन्नुपर्छ र म्हिहोग्मा (तल्लो वर्ग)ले चित्त खोलेर सुख होस् भनि चिन्तन गर्नु पर्दछ ।)

यो कथनले तत्कालिन तामाङ समाज प्रष्ट रुपले (१) उच्च वर्ग, (२) मध्यम वर्ग र (२) निम्न वर्ग गरी तीन तहको वर्गीय समाज निर्माण भैसकको देखाउँछ । त्यो सामन्त वर्ग, किसान वर्ग र दासदासी वर्ग नै हुन् । त्यसलाई म्हिगोङ्मा, म्हिबार्मा र म्हिहोग्मा भन्ने शब्दावली प्रयोग गरेका छन् ।
ताम्बाले आफ्नो काइरानहरु विषयगत रुपमा (१) सृष्टिको कथा, (२) थरीय उत्पत्ति र कुलदेवताको अवतरणको बारेमा बताउने गर्छन् । त्यसैगरी (३) रिङसाल च्योल्बा (अस्तु जिम्मा लउने) र (४) छ्योगा प्रात्बा (धार्मिक विधि) आरम्भ गर्दा त्यसरी नै सम्बोधन गर्ने गरेको पाइन्छ । ताम्बाले सबैखाले भेलालाई एउटै बेहोराले सम्बोधन गर्ने गरेको देखिन्छ ।

ताम्बाको ‘साछ्या-नामछ्या’ (सृष्टिको कथा) कर्तावाद (ईश्वरकर्ता/ब्रम्हाको सृष्टि) को अवधारणाभन्दा विपरीत छ । उसले सृष्टि प्राकृतिक नियम अनुरुप वर्णन गर्ने गरेको छ । यो बौद्ध धारणासँग हुबहु मिल्छ । बुद्धले संसारको सृष्टि म्हारिग्पा (अविद्या)बाट भएको बताउनु भएको छ । अविद्या जो अन्धकार हो अथवा अचेत तत्व नै हो । जसलाई प्राकृतिक शक्ति पनि भनिन्छ । ताम्बाले जब सृष्टि हुन्छ, तब स्वर्ग र नरक दुवै एकैचोटि सिर्जना हुन्छ भन्ने सिद्धान्त अघि सारेको पाइन्छ । त्यो तर्कसंगत पनि रहेको छ । स्वर्ग भए नरक पनि हुन्छ, माथि-तल, पूर्व-पश्चिम, उत्तर-दक्षिण र भावमा सुख-दुःख र ज्ञान-अज्ञान एक-अर्काको विपरीत भएर पनि सँगै उत्पन्न हुन्छन् ।

ताम्बाले (१) वायु तत्व शून्य आकाशमा प्रथम तत्वको रुपमा प्रकट भएको भन्ने गरेको पाइन्छ । वायु तत्वबाट (२) अग्नि, अग्निपछि (३) जलतत्व, त्यसपछि (४) भुवा (पानीको फिज), त्यसपछि (५) कणहरु र त्यसमाथि माटो जम्यो । त्यसपछि रुख-विरुवा (वनस्पति) र जंगलको सृष्टि भयो । समुद्रको पनि सृष्टि भयो । त्यसलाई तीन लोकको विभागमा विभाजन गर्दै उच्च स्वर्गमा ब्रम्हालोक (देवालोक) स्थापना भयो । मध्य अन्तरिक्षमा चन-सिकारी (अर्धदेव/असुर) स्थापना भयो । तल्लो तहमा नागराजा (आनन्द) हरु स्थापना भए भनिएको छ । त्यसको ठिक उल्टो पञ्चबुद्धलोकको पनि ताम्बाले वर्णन गरेका छन् । पञ्चबुद्धको लोक, दिशा, वर्ण, आशन, कुल, मुद्र र शक्ति समेतको वर्णन गरको पाइन्छ ।

त्यसैगरी ताम्बाले आफ्नो काइरानहरुमा भारतवर्षका तीन प्रसिद्ध बौद्धतीर्थस्थलहरु (१) बुद्धगया, (२) सारनाथ र (३) कुशीनगर, नेपालका तीन तीर्थस्थलहरु (१) स्वयम्भूनाथ, (२) बौद्धनाथ र (३) नमोबुद्ध र चीन-तिब्बतका तीन तीर्थस्थलहरु (१) कैलाश मानसरोवर, (२) लाप्छि छ्युवार (दोलखा नेपालको आधा भाग) र (३) चरी गाङ (पर्वत) (चीन, वर्मा र भारतको भूभागमा पर्ने तीर्थस्थल) को पनि प्रसंग उठाएको छ ।
मानिसमा सर्वोत्तम शाक्यमुनि, भूमिमा सर्वौत्तम अम्बरलिङ, देशमा सर्वौत्तम ह्यारलुङसोका (बम्हपुत्र नदीतट) भनि बताएका छन् । त्यसैगरी पूर्वमा बाङ्गालिङ (बङ्गाल), दक्षिणमा बेतालिङ (बेताली), पश्चिममा खछेलिङ (काश्मिर), दक्षिण–पूर्वमा खाम्बुलिङ (खम्बुवान), दक्षिण-पश्चिममा साङलिङ (ताम्राद्वीप), पश्चिम-उत्तरमा साहोरलिङ (पञ्जाप), उत्तर-पूर्वमा कामरुलिङ भनि आसामलाई देखाइएको छ । चार द्वीप, आठ देश, नीन तीर्थस्थलका देशहरुको सृष्टि भएपछि देवताको पनि सृष्टि भएको हुँदा देवताको पूजन क्रिया चन-सिकारीलाई तोर्मा (बलि) प्रक्षेपण गर्ने, नागलाई दूध अर्पण गर्नुपर्छ भनि म्हिल्हुइ रिम्पोर्छे (अमूल्य मानव जीवन) शाक्यमुनिको कुलमा जन्म लियो भनिएको छ । तर, जहाँसम्म हिमाली जनजातिको सृष्टिको कुरालाई आर्यलोकेश्वरको अवतार फ-टेहु, बोधिसत्व र डास्रिनमो (आर्यतारा)सँग जोडेर बताउने गरेका छ त्यो हिमालयमा बौद्धधर्मको महायान शाखा प्रवेश भएपछि बोधिसत्वयानको प्रभावमा परेको जस्तो देखिन आउँछ । आर्यलोकेश्वर र आर्यतारा दुई युगल बोधिसत्वहरु महायानी सम्प्रदायभित्र प्रख्यात बौद्ध देवीदेवताको रुपमा पूजिन्छ । जिक्तेन तामछ्योइको संस्कारणको फारापमा भनेको फ-टेहु (अर्धमानव) का सन्तान फोडुव-माडुव (छोराछोरी) बाट ज्योलसोङ (पशु), हिदाक (प्रेतयोनी) र न्याल्वा (नरक) तीन वर्ग भयो भन्ने पाइन्छ । ती दुर्गतिका सन्तान हुन् । अर्कोतिर, (१) ला (देव), (२) ल्हामिन (असुर) र (३) म्हि (मानव) जसलाई सुगति भनिन्छ । प्राणी जगतको भिन्नभिन्नै स्वभावका र विशेषता बोकेका छवटा सन्तान जन्म भयो भनेका छन् । ती मानव, असुर र देवता अनि पशु, प्रेत र नरक हुन् । त्यसैलाई ढोवारिगडुग (षडलोक) भन्ने गर्छन् । त्यो वर्गिकरण मानिसको संस्कारगत मनोविज्ञानको विश्लेषण गरी छ लोकका प्राणीहरुको तुलना गर्दै नामकरण गरेको देखिन्छ ।

पुस्तकको द्वितीय अध्याय छ्योगा प्रात्पा (विधि आरम्भको आह्वान) सँग सम्बन्धित रहेको छ । ताम्बाले कुनै पनि मृतकको ४९ दिन भित्र अन्तिम संस्कार घेवा (किरीया) गर्ने क्रममा लामा पुरोहितहरुले आफ्नो शास्त्रीय विधि सञ्चालन गर्नु पूर्व सर्वप्रथम ताम्बाले ‘स्याल्गार’ भनिने सगुन पोङ मूललामाको अगाढि राखेर तीन फेरा साष्टङ्ग दण्डवत गरेपछि घुँडा टेकेर हातजोड्दै विधि प्रारम्भ गर्ने प्रचलनलाई रहेको छ । यसलाई ‘छ्योगा प्रात्पा’ (विधि फुकाउने) भन्ने गरिन्छ । त्यसबेला ताम्बाले लामा समूहलाई सम्बोधन गर्दौ त्यस दिनको धार्मिक अनुष्ठानको आयोजना गर्नुको लक्ष प्रष्टाउँदै यसरी आह्वान गर्दछन्-

‘१. म्ही ल्हुइला नावा स्याल्हुइला फुङ्वा तामाला कुनु मी, नारुछ्यारु ताबाटिम, नारुछ्यारु तामाला कुनु मी, तोर्से लाला द्होन ताजी वा, मार्से म्हाङला क्योन ताजी वा बिसि, म्ही तान्बासे म्ही तापजी, ची गान्बासे ची तापजी, तोर्से लादा छ्योत लाजी, मार्से म्हाङदा स्युत लाजी, स्युत्पा छ्योत्पा राङ्बा लामु बिसि मानसी स्युबागा ।
२. स्युत्पा छ्योत्पा लासीनो तान्बा आछार्मु, तिला थेला ल्हेला छित्पा दोखामाला कुनु मी छेन्देसे तासाइ द्होङ थाल्मु बिसि मान्सि स्युबागा ।
३. द्होङ थाल्माला कुनु मी सासे थिजि, मुसे नाङजि, दिनी गुङरी मुनागुङ ताजि, मुनागुङ तामाला कुनुमी हामाइलुङ तासी गान्बा गान्सोमता ङ्योत्पा–छार्बा लामा मी, रा जाजा आहिन म्हे जाजा आहिन सिबाम म्हील्हुइ रेम्बोर्छे का हिन्न बिसम, तिलाला ग्याल्बा गोङ्बासे थान्बाला रिमठिम स्होतोला बिसि, डिन्छेन चावाइ लामा म्हा डान्डेन स्युजी, चावाइ लामा फेपस्युमु, डिनछेन चावइ लामा फेपस्युसी, साबलाम फोवा, ब्रीमलाम ङोवा जिन्छ्याक राङबाइ नो, तिला उइरीन जोगमु बिसि मान्सि स्युबागा ।
४. फोवा ङोवा जे लासी आताबा चिमु थामाला ग्हेवा गिन्दुन राङ्बाइ चुतोमु बिसि मान्सिी स्युबागा ।
५.सारी हिनसामी का जोक्पा छेन्पी, कुसुमथुला किलखोर स्हेङ्जी ।
६. न्हामरी हिन्साम सिठो ल्हाछो ठेङसी डेन्सी बाबा लामा लोपेन स्युसी बाबाला छ्योइ, छ्यालु, मिकक्रिमला दोप्ता दोर्जे लोपेन रेम्बोर्छे, रोलछिकला दोप्ता उम्जे रेम्बोर्छे’ ल्हेबुमला दोप्ता छ्योपन रेम्बोर्छे, छ्योइठिमला दोप्ता छ्योइठिम रेम्बोर्छे, गान्बा गान्सोम थेडल योन्डल लासि, खारी फान्बाला स्हे आरेसाइ, ङिङरी फान्बाला दानङ आरेसाइ- केम स्यालग्हाङ छ्योइसी छ्योका छ्योलेन ज्हेगो बिसि मानिस स्युबागा ।
७. थोना थेन्साम थोना उइरिम थेनो, मार थेन्साम मार स्यापसे नाङो, व्हारा कुसुम थुला सोत्पर खेनो ।’ (जिक्तेन तामछ्योइ २०७०ः२३-२४, तामाङ डाजाङ, काठमाडौं)

(भावार्थ : मानव जीवनको आभास (=पुरुषभाव) र हाड(मासुको राशी (को स्वरुप/रुप स्कन्ध) भएपछि दुःख बिरामी हुने रहेछ । दुःख बिरामी हुँदाखेरी माथिल्लो तहको देवी-देवताको कोपभाजन पर्यो वा तलतिरको भूत-प्रेतको दोषको पीर-पीराउ पर्यो कि भनेर बुढापाका (बोन) ले जोखाना हेरे । ज्योजिष बुढाले हेरकोर गरे । माथितिर भने (उच्चतह) देवताहरुको पूजनक्रिया सम्पन्न गर्यो । उँधोतिर भने भूतात्म-प्रेतात्मलाई मान्छाउने-तन्छाउने गर्यौं । पूजन विधि र बाधा निवारण गर्ने गर्यौं भनि सम्झेर बिन्ति गर्दछु ।
मन्छाउने-तन्छाउने (उपचार) गर्दा पनि जीवन फेरिएन । हिजोको उसको कर्मको (नियति ?) जोर्नि विन्दुमा पर्दा वा कालगति आइपुग्दाको दिन (यी) मृतक पनि परमधाम (मृत्यु) हुन पुगे भनि बिन्ति गर्दछु ।
देहान्त भै बितीगएको दिन जमीनले उचालेको, आकाशले थिचिएको (जस्तै), माध्यउज्यालो दिन मध्यरातमा परिणत भयो, मध्यरात (शोकमय अध्याँरो) भएको बेला भेला भई (हमौलुङ ?) बुढापाका तीन वर्ग (गाउँमूली, लामा र ताम्बा) लाई सोधपुछ गर्ने गर्दा सानो बाख्राको पाठा-पाठी होइन, सानो गाईको बाछा-बाछी होइन, मृत्युवरण गरेको मानवको अमूल्य जीवन हुन् भनेदेखि, हिजोका महान (जीन) प्रथम तहले व्यवस्था गरेको रीतिरिवाज मनाउनु पर्छ भनि गुणकारी मूललामालाई तिम्तो गर्यौं । गुणकारी मूलगुरु पाल्नुभयो । गुणकारी मूल लामा आउनु भई तन्त्रविद्याको प्रथम उपाय गम्भीर मार्ग (फोवा), जाति परिवर्तन (जन्म रुपान्तरण) वा जाति क्रान्तिको विधि मध्यम (उपाय) पुण्य परिणामन (ङोवा) र दाहसंस्कार (यज्ञादी) पनि पहिले नै सम्पन्न गरी आएको हो भनि विन्ति गर्दछु ।
फोवा (जाति क्रान्ति) र ङोवा (पुण्य परिणामन) मात्र गरेर पनि नहुने रहेछ । अन्तिम (संस्कार) को घेवा घेन्दुन (काज किरीया) पनि आयोजना गुर्न पर्ने रहेछ भनि सम्झेर विन्ति गर्दछु ।
(तल) भुइँमा भए (आदिबुद्धको) वचन महासन्धिको काय, वाक र चित्तको किल्खोर (मण्डला) निर्माण गर्यौं ।
आकाश (माथि) भए शान्त-रौद्र देवगणको चित्र टाँगेर, ससम्मानका साथ स्वागत गरी (ल्याएको) लामा गुरु आचार्य विराजमान भई (रहेको) धार्मिक भेषभूषा, लक्षध्यानको अधिपति बज्राचार्य (रिम्पोर्छे), वाद्यवादनका अधिपति (शास्त्रीय) उद्घोषक (रिम्पोर्छे), कर्मकाण्डका अधिपति कर्मचार्य (रिम्पोर्छे), धर्म-नियमका अधिपति धर्माधिकारी (रिम्पोर्छे), बुढापाका दाहिनेतिरका पंत्ति र बायाँतिरका पंत्ति गरी मुख रसाउने खाद्य पदार्थ नभए पनि चित्त-मनलाई आनन्दित पार्ने वचनको स्वर-लय नभए पनि एक मुख जलपान (केम) गरी विधि-विद्यान (तलमाथि नगरी) सम्पन्न गर्नुस् भनि विन्ति गर्दछु ।
माथि (देवलोक) बाट निस्केर आएकालाई शिरमा राख्नुस्, तल (संसारलोक) बाट आए भने तलको पाउले थिचिदिनुस्, (उच्चतह) माथिका काय, वाक, चित्तमा क्षमयाचना गर्दछु ।)

यस प्रक्रियामा ताम्बाले मानव जीवनको नश्वरता (अनित्यता) तत्कालीन युगको उपचार विधि देवी-देवता पूजन, भूतप्रेत मन्छाउने-पन्छाउने उपचार गर्दा पनि मानिसको मृत्य हुन गएमा गाउँका सबै तहका मानिस भेला भएर मृत्युको कारण र त्यस पछिका मूख्य संस्कार कसरी गर्ने भन्ने कार्यविधि बारे छलफल हुने परम्परालाई देखाउँछ । पछिल्लो समयसम्मै लामाले मृतकको शवलाई चिहानमा चलान गर्नु भन्दा पहिलेको विधि आरम्भ गर्दा पहिले मृतक कुन बेथा वा के कारणबाट मृत्यु हुन गयो भनि अभिभावक र गाउँलेलाई सोधेर मात्र विधि परम्परा शुरु गर्ने प्रचलन अहिलेसम्मै छ । मृतकको अन्तिम संस्कार काजकिरीयाको दिनमा पनि ताम्बाले मृकको मृत्युभन्दा पहिले सक्दो उपचार भएको र मृत्यु पश्चात पनि परम्परा अनुसार यो अन्तिम संस्कार आयोजना गरेको र त्यसको लागि आवश्यक पूर्वाधार पुरा भैसकेकाले र लामा पुरोहितलाई विधिपूर्वक मृतकको अन्ति संस्कार सम्पन्न गर्न आह्वान गरेको देखिन्छ ।

तृतीय अध्यय मिङज्याङ प्रात्पा (पुरोहितलाई अस्तु बझाउने) प्रक्रियासँग सम्बन्धित छ । पुरोहितलाई अस्तु बुझाउँदा ताम्बाले यसरी बताउने गर्छन्-

‘१. म्ही ल्हुइला नावा, स्या ल्हुइला फुङ्वा तामाला कुनु मी, सादा ङान्बाला स्या सारी थिमजीम, क्युइदा ङान्बाला का क्युइरी डिकचिम, मेदा ङान्बाला डोइ मेरिन थिमजीम, लुङदा ङान्बाला सा लुङरिन डिकचिम बसामी,
चु चरीला रुइबा मी भाइला हिन्साम भाइला छ्यारी दोनतोबा चिमु, आना(बुरिङला हिन्साम सेरकी दोङ्बो मायुङला छ्यारी दोनतोबा चिमु,
मायुङसे तासाइ नो वान हिन्सा क वान्साइ, न्होर किन्सा क देब्साइ, रुइबाला चारीमी ताम्बा सिङ्गिला छ्यारी क ज्हेला रो बिसि मान्सि स्युबागा ।
२. ताम्बा सिङ्गिसे तासाइ नो चु चारीला रुइबा मी रुङामान छ्योइ हिन्सा क जिन्दा फामादा दोन्साइ, न्होर नोर्बु राङ्बा तासा क छोङ वाङ लासाइ, भाइ तामासुक हिन्सा क पेटारोरी ज्हाङसी थान्साइ बिसाम, चु रुइबाला चरी मी फाडिन्छेन चावाइ लामाला छ्यारी प्राच्चीम बिसाम क न्हुप देवाच्यानला सिङखामरी साङ्गे होक्ष्पामेला डुङरी, क्यापसी पितमामी डिन्छेन चावाइ लामाला छ्यारी फुल्मु बिसि मान्सि स्युबागा ।
३. सिबादाइ थोरी थार्बा, सोबादाइ दु छाङ्बा मान्सि स्युबागा ।’ (जिक्तेन तामछ्योइ २०७०ः२५, तामाङ डाजाङ, काठमाडौं)

(भावार्थ : मानव शरीरको आभास मांसपिण्डको राशी (अवयव विघटन भई मृत्यु) हुने दिनमा भूतत्वबाट सापट लिएको मासु भूतत्वमा विलय भएछ । जलतत्वबाट सापट लिएको रगत जलमा मिलन (विलय) भएछ । अग्नि तत्वबाट सापट लिएको ताप (तातोपना) अग्निमै समाहित भएछ । वायु तत्वबाट सापट लिएको सास वायु तत्वमै मिल्न (विलय हुन) पुगेछ भनेदेखि(
यो (मृतकको) चरी (तत्व-पंक्षी) को अस्तु-धातु त भाइ-बन्धुको भए भाइ(बन्धुकै हातमा बुझाउनु पर्ने रहेछ । दिदी-बहिनीको भए स्वर्ण (वंश) वृक्ष माइतीको हातमा बुझउनु पर्ने रहेछ,
माइतीले पनि लुगाफाटा भए पो लगाउनु, धन-दौलत भए पो साटफेर गर्नु, अस्थी-धातु (अस्तु) को चरी (पंक्षी) त वादीर सिंह ताम्बाको हातमा पो सुहाउँछ भनि सम्झेर विन्ति गरेको हुँ ।
वादीर सिंह ताम्बाले पनि यो चरीको अस्तु त (रुङामन ?) पुस्तक भए पो यजमान जनलाई दिनु, धन-दैलत जस्तो भए पो बन्द-व्यापार चलाउनु, भाइ-तमसुक भए पो पेटरीमा हाली राख्नु भने देखिन, यो रुइपाला चरी (अस्थी धातु) त महान गुणकारी मूल लामाको हातमा सुम्पियो भने यो पश्चिम दिशाको सुखावती क्षेत्र (बुद्धलोक) मा बुद्ध अमिताभको चरणमा शरणागत पारी पठाउने महान गुणकारी मूललामाको हातमा चढाउँदाछु भनि सम्झेर विन्ति गर्दछु ।
मृतक पनि लोकोत्तरमा मुक्ति प्राप्त गर्ने, जीवित बचेकाहरुका लागि पनि शोक निवारण (.सूतक शुद्धि) हुने भनि सम्झेर विन्ति गरको हुँ ।)

ताम्बाले यहाँनेर मृतकको अस्थीधातु (रुइबा) लामाको हातमा सुम्पिने गर्दा मृताकको मोक्षको कामना साथै मृतकका आफन्तहरुका सूतक शुद्धि हुन जाने उल्लखे गरको पाइन्छ । तामाङ जातिमा मृतकको सूतक बार्नुलाई ‘धु पुइबा’ अर्थात् शोक वारण गर्नु भन्ने गरिन्छ । मृतकको नाममा दुःख, शोक वा सूर्ता (चिन्ता) लिएर भोग-बिलास, लोकाचार, पापकर्महरु परित्याग गर्ने धार्मिक नियम पालना गर्नु पुण्य कर्म मानेर एक प्रकारको व्रत (शीला) पालना गर्ने गरिन्छ । त्यो शरीर, वचन र मन (चिन्तन)ले गर्ने क्रियाकलापहरु हुन् । यसमा खानपीन, रहनसहन, बोली वचन जस्ता रहेकमा संयमपूर्वक परिशुद्ध स्वभावको परिधीमा बस्ने गर्छन् ।

बुद्धिमान मोक्तन संकलन रहेको यो ताम्बाको ‘काइरन’ मूल रुपमा अन्य ताम्बा काइतेनहरुसँग मिल्ने एउटै संरचना र सारतत्व भएको ठहरिए तापनि आंशिक रुपमा केहि फरक पनि पाइएको छ । विस्तृत र संक्षिप्त स्वरुपले गर्दा त्यसो हुन गएको हुन सक्छ । बौद्ध दर्शनमा चेतना र जीवनको भौतिक स्वरुपको भिन्न भिन्नै विभाग बारे बताउने गरेको ‘नाम-रुप’ (मिङ-स्रुग) लाई ताम्बाले नाम (=मिङ) लाई ‘नाङ्वा’.आभास र रुप (=स्रुग) लाई ‘फुङ्पो’ राशी (पिण्ड-स्कन्ध) को संज्ञा दिएको पाइन्छ । त्यो बौद्ध दर्शनकै ‘प्रतित्य-समुत्पाद’को सिद्धान्तसँग पनि जोडिन्छ ।

यो कृति लामा लिपिमा लिपिवद्ध ताम्बा काइतेनलाई नै नेपालीमा अनुवाद गरी लिपिवद्ध गरेका हुन् । सन्तवीर लामाको पनि त्यस्तै हो तर ती मूल पाण्डुलिपि उहाँहरुले संरक्षण गरेर राखेको सूचना छैन । हाल उपलब्ध पाण्डुलिपिहरु पनि उस्ताउस्तै बेहोराको भए तापनि जस्ताको तस्तै ठिकठाक देखिएको छैन । त्यसकारण यी भिन्नभिन्नै स्रोतबाट उपलब्ध सामग्रीहरु मान्नुपर्छ । सन्तवीरको सामग्री काभ्रेपलाञ्चोक जिल्ला बाङथली (ताङसार) सिम्लेका लामा गोन्बोदोर्जे बलले उपलब्ध गरेको देखिन्छ । उहाँ पुँडीघ्याङ रामेछापका अनुयायी हुन् । बुद्धिमान मोक्तानले अनेक ‘ठुङराप’ र ‘दोङराप’ पुस्तकहरु आफूकहाँ संकलित हुन आएको भनिए तापनि त्यसको स्रोत भने खुलाएको छैन । ती सामग्रीका पाण्डुलिपिहरु नेपालबाट दार्जिलिङ क्षेत्रमा पुगेको तथ्यमा शंका गर्नु सकिन्न ।

भाषाको दृष्टिले हेर्दा पुस्तकमा भाषिक अशुद्धता पनि धेरै छन् । एउटा भाषा अर्कोथरी भाषाको लिपिमा उतार्द शाब्दिक उच्चारणमा अशुद्धता प्रसस्त हुने गर्छन् । जस्तै, रोमनमा नेपाली लेख्दा वा त्यसैगरी देवनागरीमा अंग्रेजी शब्द लेख्ने गर्दा शुद्धता पाउन सकिन्न । त्यस्तै जिक्तेन तामछ्योइमा पनि हुन गएको छ ।

कतिपय प्राचीन शब्दहरुको अर्थ वर्तमानमा फेरिएर अर्कै अर्थमा प्रयोग गर्ने गरेका छन् भने कतिपय शब्दहरु दैनिक प्रयोगको अभावमा ठिक अर्थ लगाउन असक्षम पनि हुन गएका छन् । त्यसकारण प्राचीन शब्दावलीको शब्दार्थ र सही उच्चरणतिर शोधकर्ताहरुले ध्यान पुर्याउनु पर्ने हुन्छ ।

अर्न्तवस्तु वा बाप्सा-ठुङ्साको वर्णन सन्तवीर लामाको ‘ताम्बा काइतेन’ र अन्य उपलब्ध दास्तावेजहरुसँग दाँजेर हेर्दा अर्थवस्तु बाझिएको पाइन्छ । त्यस किसिमका त्रुटिहरुलाई सच्याउन विज्ञहरुको संलग्नतामा एउटा परियोजना नै सञ्चालन गर्नु बाहेक अर्को उपाय छैन । सन्तवीरले उतारेको प्रतिलिपिमा ‘डुगु ग्याल्साला डुवा बाप’ भनि उल्लेख गरेकोमा उहाँको प्रकाशनमा ‘ख्युङ्वा भापना डुगु ग्याल्साला बाप’ भनिएको छ । त्यस्तै अर्को पनि विरोधाभास जनाउने खालका श्लोकहरु प्रसस्तै छन् ।

सन् १९५६ मा प्रकाशित यो पुस्तक तामाङ सम्बन्धमा खेखिएको पुरानो ग्रन्थ नै भन्नु पर्छ । अबको पुस्ताले पनि बुद्धिमान मोक्तानको अनुकरण गर्दै तामाङ सम्बन्धी पुराना दस्तावेजहरु संकलन गरी त्यसको वैज्ञानिक विश्लेषण र संरक्षण गर्ने काममा उत्रन सक्नु नै उहाँप्रतिको सच्चा श्रद्धाञ्जली ठहर्नुको साथै त्यसले सैद्धान्तिक र प्रविधिक पक्ष दुवैको सरल भाषामा प्रष्ट पार्न सक्ने छन् ।

सन्तवीर लामा र बुद्धिमान मोक्तानको एउटै पुस्तकको प्रकाशनले किन यति ठूलो जस हासिल गरे भन्ने जिज्ञास उठ्ने गर्दछ । त्यो उहाँहरुले सही दिशामा कदम चालेका थिए, तब न अहिले तामाङ समुदायले उहाँहरुको स्मरण गर्ने गर्छन् । समाजको लागि भनि गरिने काम सही दिशामा लक्षित हुनुपर्छ भन्ने मूल कुरा हो । त्यसको समिक्षा भावि पुस्ताले नै गर्दछ ।

संक्षेपमा राजनीतिक, आर्थिक, सामाजिक वा भाषिक क्षेत्रमा योगदान प्रदान गर्न खोज्नेले सही दिशा दिन सक्नुपर्छ नभए श्रम, समय, शक्ति सबै दुरुपयोग भएको ठहरिनु पुग्छ । भाषा जातिको पहिचान हो । भाषाले नै ज्ञानको भण्डार बढाइ जाति समुदायको आत्मबल बढाउन सहज बनाउँछ । त्यसैकारण भारतवर्षमा हिन्दीभाषीहरुले बेजोडका साथ हिन्दी भाषाको प्रचार गर्ने गरेका छन् । यद्यपी भाषाको प्रचार अर्को भाषाको विपक्षमा उभिनु भने उचित होइन । यो आफ्नो भाषा विकास गर्ने सवाल हो ।

सैलुङ अनलाईनबाट साभार

तपाईंको प्रतिक्रिया दिनुहोस

कृपया आफ्नो प्रतिक्रिया प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम

 

ताजा अपडेट

बौद्ध धर्मको उद्गमस्थल नेपाल हो : परराष्ट्र मन्त्रालय

भारतीय विदेशमन्त्री एस. जयशंकरले नेपालको लुम्बिनीमा जन्मिएका गौतम बुद्धलाई महान भारतीय भनेर अभिव्यक्ति दिएपछि नेपाली सञ्चालमाध्यमले नेपालको परराष्ट्र मन्त्रालयको आधिकारिक धारणा मागेपछि...

अमेरिकाको पेन्सलभेनियाबाट तामाङभाषी किशोरी बेपत्ता

बस्टन : अमेरिकाको पेन्सलभेनियाबाट नेपालीभाषी किशोरी हराएकी छन्। १४ वर्षीया शबिका तामाङ बुधबार पेन्सलभेनिया राज्यको डौफिन काउन्टीस्थित स्वट्यारा टाउनशिपबाट हराएकी हुन्।

इजरायलबाट पत्रकार तथा कलाकार देव लामाको उपचारको लागि आर्थिक सहयोग प्रदान

तेलअविव| नेपाल तामाङ घेदुङ,इजरायलका प्रमुख संरक्षक कल्पना मोक्तान तामाङको सकृय पहलमा सेवा नै धर्म हो भन्ने मुल मन्त्रलाई आत्मसात गरि मकवानपुरवासी हाल...

यो पनि हेर्नुहोस्

- Advertisement -
- Advertisement -